About us | Staffs | Contact us


प्रेस चौतारीको महाधिवेशन स¥यो

March 3, 2016 | no comments



फागुन–२०,धवलागिरी एफएम/

नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको पूर्व घोषित आठौं राष्ट्रिय महाधिवेशन सरेको छ ।
नयाँ संविधान अनुकूल संघीय ढाँचाको विधानको तयारी सहित संगठनका केही महत्वपूर्ण आन्तरिक कामहरु सम्पन्न गर्नुपरेका कारण अब महाधिवेशन जेठ ६, ७ र ८ गते काठमाडौंमा हुने प्रेस चौतारी नेपालले जनाएको छ । यसअघि चौतारीले चैत ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन गर्ने बताएको थियो ।
नेकपा एमाले केन्द्रीय प्रचार विभागका प्रमुख तथा प्रेस चौतारीका इञ्चार्ज योगेश भट्टराई, विभागका उपप्रमुख तथा सहइञ्चार्ज सूर्य थापाको उपस्थिति तथा अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले सर्वसम्मत रुपमा महाधिवेशन सार्ने निर्णय गरेको हो ।
‘पूर्व निर्धारित मितिमा राष्ट्रिय अधिवेशन आयोजना गर्नका लागि नाकाबन्दीसँगै हाम्रो संगठनका केही जिल्ला अधिवेशन सम्पन्न गर्नमा भएका ढिलाई, केन्द्रीय कार्यालयले सम्पन्न गर्नुपर्ने केही जरुरी कामहरु विविध कारण सम्पन्न नभएपछि राष्ट्रिय अधिवेशनको मिति सारिएको हो’ बैठकपछि प्रेस चौतारीका महासचिव माधव नेपालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले चैत २० र २१ गते मकवानपुरको सदरमुकाम हेटौंडामा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि गरेको छ । चैत १५ गतेभित्र सम्पूर्ण जिल्लामा जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।