About us | Staffs | Contact us


प्रहरीले लुकाईएका पेट्रोलियम पदार्थ सहित तीन जनालाई प्रकाउ

March 3, 2016 | no comments



फागुन–२०,म्याग्दी/
चार महिना लामो नाकाबन्दीपछि सहज बन्दै गएको पेट्रोलियम पदार्थ घरमा लुकाईराखेको अवस्थामा तीन जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
लामो समय देखि महँगो मूल्यमा डिजेल र पेट्रोल बिक्री वितरण गरेको गोप्य सूचनाका आधारमा प्रहरीले बेनी नगरपालिका–९ गलेश्वरबाट मोहन केसी, लक्की केसी र बेनी बजार स्थित कालीपुल बसपार्कबाट यज्ञराज थापालाई ३ सय लिटर डिजेल र १ सय ४५ लिटर पेट्रोल सहित आज दिउँसो पक्राउ गरेको हो ।
प्रहरीले कति मूल्यमा विक्री वितरण भएको भन्ने नखुलाए पनि यातायात व्यवसायीहरुले भने एक सय ५० रुपैयाँ प्रति लिटरमा डिजेल खरिद गर्ने गरेको प्रतिक्रिया दिएका छन् ।
प्रहरी निरिक्षक लोकेन्द्रसिंह गुरुले यज्ञराज थापाबाट २ सय ५० लिटर डिजेल र १ सय लिटर पेट्रोल, लक्की केसीबाट ५० लिटर डिजेल र १५ लिटर पेट्रोल र मोहन केसीबाट ३५ लिटर पेट्रोल बरामद गरिएको जानकारी दिनुभयो । ‘हामीले घरमा स्टोर गरिराखेको अवस्थामा डिजेलहरु बरामद गरेका हौँ, कति मूल्यमा वितरण ग¥यो भन्ने कुरा खुल्न बाँकी छ’, प्रहरी निरिक्षक गुरुले भन्नुभयो, ‘यो विषयमा गहिरो अनुसन्धान हुनेछ ।’
भारतीय अघोषित नाकाबन्दीको समयमा पनि जिल्लामा ठुलो परिमाणमा पेट्रोलियम पदार्थ भित्रिने गरेको थियो । जिल्लामा आईतबार मात्रै १२ हजार डिजेल र ९ हजार पेट्रोल भित्रिएको जिल्ला प्रशासनले जनाएको छ ।
भित्रिएका तेललाई कोटा प्रणालीका आधारमा यातायात व्यवसायीलाई वितरण गरिदै आएपनि पेट्रोल पम्प सञ्चालक र यातायात व्यवसायीको मेलमतोमा तेल घर–घरमा पुग्ने गरेको प्रहरीले अनुमान गरेको छ । ‘बाहिर हाहाकार छ, तैपनि घरमा तेलको थुप्रो भेटिन्छ, यो विषयमा हामीले गहिरो अनुसन्धान गर्दैछौ, अनुसन्धान पछि बल्ल सबै कुरा थाहा हुन्छ’, उहाँले भन्नुभयोे, ‘अनुसन्धानको दायरा फराकिलो बन्दै जाँदा पम्प सञ्चालकहरु पनि तानिन सक्नेछन् ।’
जिल्लामा भित्रिने पेट्रोलियम पदार्थ मालिका आयल स्टोर्स, कालीगण्डकी आयल स्टोर्स र गलेश्वर स्थित रघुगंगा आयल स्टोर्सबाट पालैपालो बिक्री हुदै आएको छ ।